प्रदेशको शान्ति सुरक्षाको जिम्मा पाएका गृहमन्त्री पाण्डेय सरकार बिरोधी प्रदर्शनमा
तिलोत्तमा, २३ मंसिर २०८०, भैरहवा स्थित अन्तरराष्ट्रिय विमानस्थलमा नियमित उडान नहुँदा भएको विरोधमा सरकारका खिलाफ गरिएको प्रदर्शनमा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेयले सहभागी हुनुभएका छन्। नियमित उडान नहुँदा सिद्धार्थ सञ्जालले आयोजना गरेको यो विरोध प्रदर्शनमा गृहमन्त्री पाण्डेय सहभागी हुनुभएका हुन्।
समग्र लुम्बिनीको विकासका लागि विमानस्थल संचालनले ठुलो भूमिका खेल्ने भन्दै गृहमन्त्री समेत रहेका पाण्डेयले आन्दोलनमा सहभागी हुनु बताएका थिए। सञ्जालको आयोजनामा रुपन्देहीको भैरहवा देवकोटा चोकबाट सुरु भएको र्याली बुद्ध चोकमा पुगेको थियो। र्यालीमा सहभागीहरूले विमानस्थल सञ्चालनको माग गर्दै नाराबाजी गरेका थिए। विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै भैरहवामा शान्तिपूर्ण जनदबाब र्याली तथा विरोध प्रदर्शन गरिएको सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले जानकारी दिए।
र्यालीमा लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेय, संविधानसभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे के.सी, सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधिहरू, उद्योगी, व्यवसायी, विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि एवं नगर बासीहरूको उपस्थिति रहेको थियो।
प्रदर्शनपछि बुद्ध चोकमा आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका गृहमन्त्री पाण्डेयले आफूले सरकार छोडेको बेला आन्दोलनमा साथ दिने प्रतिबद्धता जनाए। उनले विमानस्थल सञ्चालन गर्नको लागि आफ्नो आन्दोलनमा निरन्तर साथ दिने बताए। सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थल नचल्दा उद्योगी–व्यवसायी दयनीय अवस्थामा पुगेको बताए। संविधानसभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले यो आन्दोलनलाई सरकारले सानोतिनो नठान्न चेतावनी दिए।
Comments