नारायणघाट-बुटवल सडकको दुरवस्थाले लुम्बिनी क्षेत्रमा पर्यटक घट्न थाले

काठमाडौं - विश्वसम्पदा सूचीमा रहेको लुम्बिनी क्षेत्रको पर्यटक सङ्ख्या नारायणघाट-बुटवल सडकको दुरवस्थाका कारण घटिरहेको लुम्बिनी विकास कोषले जनाएको छ।

विसं २०७६ अघि लुम्बिनीमा वार्षिक रूपमा आउने आन्तरिक पर्यटकहरूको सङ्ख्या कम्तीमा पनि १० लाख हुन्थ्यो। तर, कोभिड-१९ को महामारीपछि दुई वर्षसम्म पर्यटकहरू लुम्बिनीमा जान सकेनन्।

कोरोना महामारी कम भएपछि अन्य क्षेत्रहरू सामान्य अवस्थामा फर्किए पनि नारायणघाट-बुटवल सडकको खराब अवस्थाका कारण लुम्बिनीमा वार्षिक ६ लाख पर्यटकमात्र आइरहेका छन्, कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए।

शाक्यले संसदीय समितिको बैठकमा भाग लिन कार्यालयको गाडीमा काठमाडौं आउँदा १३ घण्टा समय लागेको उल्लेख गर्दै धार्मिक पर्यटन वृद्धि गर्न लुम्बिनीमा जाने सडकहरूको सुधार आवश्यक रहेकोमा जोड दिए।

लुम्बिनी क्षेत्रमा पूर्वाधार निर्माण भए पनि नारायणघाट-बुटवल सडकको अवस्थाका कारण पर्यटकहरूले कठिनाइ भोग्नुपरेको कोषका पदाधिकारी र कर्मचारीहरूले गुनासो सुन्दै आएको सदस्य सचिव शाक्यको भनाइ छ।

सडक निर्माणको काम छिट्टै सम्पन्न भएमा लुम्बिनी लगायत पश्चिम नेपालको विभिन्न जिल्लामा जाने आन्तरिक तथा बाह्य पर्यटकहरूको सङ्ख्या बढ्ने शाक्यले बताए। रासस

Comments