नेपालले प्रतिबन्ध लगाएपछि सरकारलाई टिकटकको सात बुँदे पत्र, सरकारको निर्णयबाट आफू ‘चकित परेको’
टिकटकको पत्रमा के छ?
बीबीसीलाई प्राप्त पत्रमा टिकटकले नेपालको दूरसञ्चार प्राधिकरणलाई पत्र पठाउँदै उक्त प्लेटफर्मलाई बन्द गर्ने सरकारको निर्णयबाट आफू ‘चकित परेको’ जनाएको छ।
उसले टिकटकमाथिको प्रतिबन्धले नेपाली युवाहरूलाई आर्थिक हानी गर्ने स्मरण गराएको छ।
प्रयोगकर्ताको सुरक्षा टिकटकको सबैभन्दा महत्त्वपूर्ण प्राथमिकता भएको बताउँदै नेपालमा भएका र नेपालका सरकारी निकायसँग गरिएका समझदारीहरूको स्मरण गराउने सातवटा बुँदा पनि उल्लेख गरेको छ।
उसले नेपालमा संयुक्त रूपमा नेपालमा इन्टरनेट सुरक्षा सचेतना अभियान सञ्चालन गर्न नेपाल दूरसञ्चार प्राधिकरणसँग एउटा समझदारी गरेको पनि उल्लेख गरेको छ।
त्यस्तै उसले यसै वर्षको गत जुन ७ मा नेपाल सरकारका लागि स्थानीय कानुनको उल्लङ्घन भएको कुनै पनि सामग्रीबारे रिपोर्ट गर्न सकोस् भनेर 'ट्रस्ट एन्ड सेफ्टी इन्फोर्समेन्ट टुल (टीएईटी)' को पहुँच दिएको पनि उल्लेख गरेको छ।
टिकटकले गत अगस्ट २९ मा आफू नेपालमा डिजिटल सेवा करदाताको रूपमा दर्ता पनि भएको स्मरण गराएको छ।
त्यस्तै उसले सन् २०२२ को अक्टोबरदेखि गत जुनसम्ममा टिकटकको ‘कम्युनिटी गाइडलाइनहरू’ उल्लङ्घन गरेका २९ लाख ८० हजार भिडिओहरू नेपालमा आफ्नो प्लेटफर्मबाट हटाएको जनाएको छ।
टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय ‘आफूसँग’ नेपाल सरकारले निरन्तर संलग्न भएर काम गर्ने भनी गरेको सहकार्यको प्रस्ताव विपरीतको भएको पनि उसले उल्लेख गरेको छ।
यद्यपि उसले आफू नेपाल सरकारसँग निरन्तर सहकार्य गर्न र आवश्यक प्रावधानहरू गरेर काम गर्न तत्पर रहेको बताएको छ।
टिकटकमाथिको प्रतिबन्ध वाक् र अभिव्यक्ति स्वतन्त्रताको सिद्धान्तसँग मेल नखाने खालको भएको पनि टिकटकको भनाइ छ।
स्रोत बिबिसी न्यूज
Comments