लेडि जेसिज कप: रौतहट र धनगढी उपाधिका लागि भिड्ने।
भरतपुर । चितवनमा जारी लेडी जेसीज कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको लागि रौतहट महिला फुटबल एकेडेमी र अल स्टार स्पोर्टस् एकेडेमी भिड्ने भएका छन् ।
बिहीबार सम्पन्न सेमिफाइनल खेल जित्दै रौतहट र धनगढीले उपाधि भिडन्त पक्का गरेको हो । नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिमकेन्द्र) को मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा रौतहटले गोकर्णेश्वर नगरपालिका काठमाडौँलाई १–० ले पराजित गर्यो।
प्रतिस्पर्धात्मक खेलमा रौतहटलाई जिताउन मेनुका आले मगरले निर्णायक गोल गरिन् । उनले खेलको अतिरिक्त समयमा गोल गर्दै रौतहटलाई उपाधि नजिक पुराएकी हुन् । खेल अवधिभर रौतहटलाई रोकेको गोकर्णेश्वर अन्तिम मिनेटमा सम्हालिन नसक्दा पराजित भयो । मेनुकाले प्लेयर अफ दी म्याच बन्दै पाँच हजार रुपैयाँ प्राप्त गरिन् ।
यस्तै, दोस्रो सेमिफाइनलमा गैँडाकोट फुटबल क्लबलाई हराउँदै धनगढीले रौतहटसँगको उपाधि भिडन्त पक्का ग¥यो । फाइनलमा स्थान बनाउन धनगढीले गैँडाकोटलाई २–० ले हरायो । उसको जितमा कप्तान निरु थापाले एक गोल गरिन् भने अर्को एक गोल धनगढीले उपहार पायो ।
निरुले २५ औँ मिनेटमा गोल गर्दै धनगढीलाई अग्रता दिलाएकी थिइन् । ३५ औँ मिनेटमा गैँडाकोटकी कप्तान पुस्तिका वाग्लेले आत्मघाती गोल गरिन् । उनले बल क्लियर गर्न खोज्दा आफ्नै पोस्टको जाली चुम्यो । धनगढीकी कप्तान निरु प्लेयर अफ दी म्याच बनिन् । उनले पनि पाँच हजार रुपैयाँ प्राप्त गरिन् ।
उपाधि भिडन्त मंसिर ९ गते शनिबार दिउँसो २ बजे हुनेछ । नारायणगढ लेडी जेसीजको आयोजना तथा चितवन जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित दुई लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले एक लाख प्राप्त गर्नेछ । यस्तै, विधागत उत्कृष्ट खेलाडी तथा उत्कृष्ट प्रशिक्षकले जनही १०/१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
Comments