जे हुनु थियो त्यहि भएको हो ! 'इन्जिनियरिङमा विद्यार्थी घटे !' भनेर चलिरहेको रोइलोमा केहि कुरा
जे हुनु थियो त्यहि भएको हो !
पहिलो कुरा त यसभन्दा पहिले चाहिनेभन्दा ज्यादै धेरैे पढ्थे, अब थिग्रेर ठिक ठाउँमा आइपुग्ला जस्तो छ । इन्जिनयरिङभन्दा अरु विषयमा राम्रो गर्न सक्ने विद्यार्थीहरु पनि धेरै थुप्रिएर आफ्नो जिन्दगीलाई गञ्जागोल पार्थे, अब त्यो नहोला - राम्रै कुरो हो ।
देशले प्रत्येक वर्ष कुन विषयमा कति इन्जिनियर उत्पादन गर्नुपर्ने हो र त्यसका लागि कति इन्जिनियरिङ कलेजहरु चाहिन्छ भन्ने कुरामा सरकारले कहिल्यै सरोकार राखेन। इन्जिनियरिङ शिक्षालाई हाताहाती दाम कमाउन सकिने व्यापारको रुपमा पतन गराइदियो सरकारले, यो मौका छोपेर च्याउझैं उम्रिए इन्जिनियरिङ कलेजहरु, र अब च्याउन सुक्ने याम आएजस्तो छ । राजनीतिक भागबण्डाको काट्टो खाँदै पदमा पुगेका कतिपयको कामनै इन्जिनियरिङ कलेजको सम्बन्धन 'बेच्नु' बन्यो । सजिलै 'मुर्गा' जालमा पर्ने भएर होला, अरुको त कुरै छोडौं; लुम्बिनी बौद्ध विश्विद्यालय र राजर्षी जनक विश्वविद्यालयले समेत सम्बन्धन दिएर 'दोकान' खोलाए ।
केहि अपवादलाई छोडेर धेरैजसो निजी कलेजले गर्ने भनेको "तानेर भित्र छिराउने र धकेलेर बाहिर निकाल्ने" हो । त्यो भनेको गणित, भौतिकशास्त्र जस्ता इन्जिनियरिङका जग विषयमा कमजोर विद्यार्थीलाई पनि फकाएर हुन्छ कि बिभिन्न लोभ देखाएर हुन्छ कि जागिर छिटो पाइने आश्वाशन दिएर हुन्छ कि आफ्ना कलेज भर्ने हो, र त्यसपछि चार वर्षको ठाउँमा ६, ७, ८ वर्ष लगाएर वा 'सुनौलो मौका' पाएर बल्लबल्ल उत्तीर्ण भएकालाई प्रमाणपत्र भिडाइदिने हो । कति त पढ्छन् मात्र, उत्तीर्ण हुँदै हुँदैनन् । 'सके पास, नसके अभ्यास'का यस्ता विद्यार्थीले त्यसपछि के गर्छन् मलाई थाहा भएन । निश्चित रुपमा ती विद्यार्थीहरु अरु कुनै विधामा राम्रो गर्न सक्थे ।
समग्र तस्बीर हेर्दा पनि इन्जिनियरिङ शिक्षाप्रति आकर्षण घटिरहेको छ। १२ सक्नासाथ विदेश गएका हाम्रा छोराछोरीका कारणमात्र होइन इन्जिनियरिङ पढ्नेको संख्या घटेको । इन्जिनियरिङ सकेपछि गतिलो रोजगारीको सम्भावना नदेखिनु प्रमुख कारण हो । इन्जिनियरहरु खपत गर्न देशमा प्रशश्त उद्योगधन्दाहरु र परियोजनाहरु चाहिन्छ । अब हाम्रो औद्योगिक हालत के छ त्यो मैले भनिरहनन परेन, र परियोजनाहरु चल्ने हालत पनि हामीलाई थाहै छ । रोजगारी पाउने वा स्वरोजगार हुन सकिने आशाका कारण इन्जिनियरिङमा आउने सम्भावना भएको एउटा ठुलो समूह केहि समय यता नाममा कतै न कतै 'आइटी' झुण्ड्याइएका र विशेष गरी विदेशी सम्बन्धनमा चलेका कलेजमा पढाइने विषयहरुतिर आकर्षित भइरहेको छ। अर्को तिर, समाजमा पहिलेको जस्तो 'डाक्टर इन्जिनियरनै बन्नुपर्छ!' भन्ने मानसिकता पनि अब छैन, धेरै राम्रा विद्यार्थीहरु कानून, व्यवस्थापन, आदि रोज्न थालेका छन् ।
निजीमा त घटे, घटे, सरकारीमा पनि घटे, इन्जिनयरिङ अध्ययन संस्थानमा पनि घटे वा पुल्चोक क्याम्पसमा पनि घटे भन्ने कुरा समाचारका 'हेडलाइन' बनेका छन् । सरकारी क्याम्पसहरु पढाउन होइन राजनीति गर्न बनेका रहेछन् भन्ने कुरा आम जनताले बुझ्न थालेका छन्, त्यो राम्रै हो । इन्जिनियरिङ अध्ययन संस्थान र पुल्चोक क्याम्पस पनि 'अर्को ड्याङका मूला' होइनन्, हामीले यिनलाई घटिया राजनीतिक खेलबाट मुक्त राख्न सकेनौं, शायद चाहँदै चाहेनौं । अरुलाई जस्तो तुरुन्तै ठुलो संकटले नघेर्ला हामीलाई तर समयले दह्रो संकेत दिइसकेको छ । समयको संकेत बुझेर आफुलाई सपारेर दुरुस्त बनाउने थोरै समय अझै बाँकी छ ।
- वसन्त गौतम
Comments